कोरोना सङ्क्रमितका लागि चितवनमा प्लाज्मा बैंक बनाइने
चितवन । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना सङ्क्रमितहरुका लागि प्लाज्मा बैंक बनाउन शुरु गरेको छ । हालसम्म केन्द्रले चार जना निको भएका सङ्क्रमितले रगत सङ्कलन गरी प्लाज्मा बनाएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार तीमध्ये दुई युनिट प्लाज्मा एक बिरामीलाई दिइसकिएको छ । बाँकी ‘ओ’ र अर्को ‘बी’ रक्तसमूहको दुई प्लाज्मालाई तयारी अवस्थामा राखिएको छ ।
यसअघि दिइएको दुई युनिट प्लाज्मा ‘बी’ समूहको थियो । मानिसको शरीरमा ‘ए’, ‘बी’, ‘ओ’ र ‘एबी’ समूहको रगत चढाइन्छ । पौडेलले चारवटै रक्तसमूहको कम्तीमा पाँच युनिटका दरले प्लाज्मा तयार गरी बैंकको रूपमा राख्न लागिएको जानकारी दिए । यसका लागि केन्द्रले प्रक्रिया अघि बढाइसकेको छ ।
चितवन र आसपासका जिल्लामा निको भएका सङ्क्रमित खोजी गरी केन्द्रले नै सवारी साधनको व्यवस्था गरेर रक्तसञ्चार केन्द्र ल्याउने भएको छ । उनीहरुलाई केही समस्या भएमा यहीँ उपचार गर्न सकिने भएकाले केन्द्रमै रगत सङ्कलन गर्न लागिएको हो ।
सङ्क्रमितको नतिजा नेगेटिभ आएको १४ दिनपछि ४५ दिनभित्र रगत सङ्कलन गरी प्लाज्मा बनाउनुपर्ने हुन्छ । यसका लागि लक्षण देखिएका सङ्क्रमित चाहिने पौडेलको भनाइ छ । जिल्लाको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेजसँगै पुष्पाञ्जली अस्पतालमा गम्भीर अवस्थाका सङ्क्रमितको उपचार हुँदैआएको छ ।