‘कठै, दश असल नागरिकको चिन्ता !’
काठमाडौं । सत्तारुढ नेकपाको आन्तरिक कलहले पार्टी फुट्नेसमेतको हल्ला चलेपछि बुधबार कनकमणि दीक्षितसहित दश जना नागरिकले बदर गरिसकिएका अध्यादेशलाई विवादको मुद्दा बनाएर प्रधानमन्त्रीको राजीनामा माग्ने कार्य संकटको वर्तमान अवस्थामा अप्रासंगिक रहेको भन्दै अपील सार्वजनिक गरे ।
उनीहरुले अपीलमा भनिएको छ, ’मुलुक कोभिड–१९ को महामारीसँग कठोर संघर्ष गरिरहेको यथार्थ कसैसँग लुकेको छैन । अहिलेसम्म नेपालमा सङ्क्रमण धेरै नफैलिएको भएपनि विश्वलाई नै सताइरहेको यस भयावह बिमारीले गम्भीर मोड लिनसक्ने खतरा कायम छ । आम नागरिकहरू काम, दाम र मामसमेत त्यागेर कोरोना विश्वव्याधिबिरुद्धको संघर्षमा सहभागी भएकोले केही शुरुवाती सफलताहरु हात लाग्न थालेका छन् । यसलाई अवरुद्ध गर्ने, नागरिकका अत्यावश्यक प्राथमिकतालाई वेवास्ता गर्ने तथा विश्वमा राष्ट्रको सम्मानलाई समेत आघात पार्ने प्रवृत्ति मुलुक हाँक्ने जिम्मेवारी निर्वाह गरिसकेका पूर्वप्रधानमन्त्री तथा लामो इतिहास बोकेका वरिष्ठ नेताहरूको अग्रसरतामा नै देखा पर्न थालेकोमा हामी गम्भीर चिन्ता र सरोकार प्रकट गर्दछौं ।’
बुधबार साँझ पार्टीको सचिवालय बैठक बसिरहेका बेला यस्तो अपील जारी गरिएको हो । प्रजातान्त्रिक प्रणालीमा राजनीतिक दलभित्र पनि आन्तरिक प्रजातन्त्र हुन्छ । प्रधानमन्त्री ओलीको स्वेच्छाचारिता बढ्यो भनेर सचिवालय बैठक बोलाइएको थियो । तर नागरिक समाज त दलहरुले बाटो विराउन खोजियो भने खबरदारी गर्ने हो । तर कुन नेतालाई प्रधानमन्त्री बनाउ, कसलाई हटाउन, कसलाई नहटाउ भनेर नागरिक समाजले भन्ने होइन भनेर अहिले सामाजिक संजालमा नागरिक समाजको विरोध भएको छ ।
लकडाउनका कारण दुई हप्तासम्म हिंडेर नागरिक घर जान बाध्य हुँदा नबोल्ने नागरिक समाज किन ओलीको पक्षमा चाहिं बोल्यो भनेर उनीहरुको विरोध भएको हो । नागरिक अगुवा भन्नेहरु पार्टीका कार्यकर्ता त होइनन् भन्ने उनीहरुमाथि सामाजिक संजाल प्रयोगकर्ताले प्रश्न उठाएका छन् ।
साहित्यकार एवं विश्लेषक खगेन्द्र संग्रौला लेख्छन्, प्रम ओलीको चातुर्य,अहो ! चुम्बकीय सूत्र लाएर नागरिक परिचालन गर्न भ्याइसकेछन् । नागरिक वक्तव्य भन्छ, ओली जोगाऊ, स्थिरता बचाऊ ! सत्तामा ओली सर अराजकता, भ्रष्टाचार र अहंकारले चिनिन्छन् । यी तीन तत्व सत्ताबाट पाखा लाग्दा खल्बलिने स्थिरता कसको र कस्तो हो ? कठै, दस असल नागरिकको चिन्ता !
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई ट्वीटरमा लेख्छन्, शासकको दीर्घायू निम्ति स्वस्ति वाचन गर्ने र दक्षिणा ग्रहण गर्नेलाई विद्वत भाषामा पुरोहित र ग्राम्य भाषामा टपरे बाहुन भनिन्छ ! तर कतैपनि र कहिल्यै पनि नागरिक अगुवा भनिन्न । नागरिक अगुवाले सधैं शासकलाई खबरदारी गर्छ चाकरी हैन ! पवित्र नागरिक अगुवा पदावलीलाई नागरिक ह..वामा भ्रष्टीकरण नगरियोस् !
पत्रकार नारायण अमृत लेख्छन्, नागरिक समाजका नाममा नाक ‘कमोड’मा जोत्नेहरुलाई चिनौं है । ३ सय किलोमिटर पैदल हिँडे अपलत्र, चुप । खान पाएनन् मजदुर, चुप । संकटमा त्यत्रो भ्रष्टाचार र वेथितिको कुरा आयो, चुप । दिउँसै सूर्यलाई हत्केला देखाइयो, चुप । अहिले प्रमको कुर्चीमा मुटुको धड्कन ? लाज लाग्दैन ?
लेखक अजित बराल लेख्छन्, अस्थिरताको जडलाई मलजल गरेर स्थिरता ल्याउने कस्तो सपना हो लौन !
पूर्वप्रशासक मधुरमण आचार्य लेख्छन्, “नागरिक समाजले सरकारको समर्थनमा बोलेको मैले पहिलो पटक सुन्दैछु”, नेपालको द्वन्द्वबारेको सन् २००२ मा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा नागरिक समाजको तर्फबाट भागलिने एक वक्ताले सरकारको पक्षमा वकालत गरेपछि सम्मेलनको अध्यक्षता गरिरहेका एक शक्तिशाली देशका मन्त्रीले भनेका थिए ! स्मरण !!