‘पुटिनबिनाको रुस के को रुस ?’
‘पुटिनबिनाको रुस के को रुस ?’ यो विचार हो रुसी राष्ट्रपति कार्यालय क्रेम्लिनका डेप्यूटी चीफ अफ स्टाफको । अनि यस्तै विचार प्रतिध्वनित हुन्छ ती लाखौँ रुसीहरूमा, जसले वर्षौँदेखि पुटिनलाई राष्ट्रपति वा प्रधानमन्त्रीका रूपमा शक्तिमा रहिरहनका लागि मतदान गरिरहेका छन् । देशको संविधान संशोधनका लागि जुलाई १ मा हुने देशव्यापी मतदानपछि सम्भवतस् त्यो विश्वास पुनः नवीकरण हुनेछ । त्यसले पुटिनलाई फेरि दुई पटक राष्ट्रपतिको प्रतिस्पर्धी बन्न बाटो खोलिदिनेछ । रुसमा राष्ट्रपतिको कार्यकाल छ वर्षको हुन्छ । सन् २०२४ मा सकिने हालको कार्यकालपछि पनि राष्ट्रपतीय निर्वाचनमा सहभागी हुने सम्भावनालाई ६७ वर्षीय पुटिनले अस्वीकार गरेका छैनन् । उनी फेरि चुनाव लडेर सन् २०३६ सम्म सत्तामा बसिरहन सक्छन् । नात्सी जर्मनीविरुद्ध सोभियत सङ्घको विजय तथा दोस्रो विश्वयुद्ध अन्त्यको अवसरमा बुधवार मस्कोको रेड स्क्वाएरमा ७५ औँ विजय दिवस परेड भएको एक दिनपश्चात् बिहीवारदेखि जनमतसङ्ग्रहको मतदान सुरु भएको छ ।
किन गरिँदैछ जनमतसङ्ग्रह ?
यसैवर्ष जनवरीमा पुटिनले लोकप्रिय मतदानमार्फत् संविधान संशोधनको प्रस्ताव राखेका थिए । यो चुनाव गराउनुको एउटा प्रमुख कारण राष्ट्रपति पुटिनलाई पुनः दुई पटक राष्ट्रपतिका लागि चुनाव लड्न बाटो खुला गरिदिनु हुनसक्छ । यो जनमतसङ्ग्रह खासमा २२ अप्रिलमा गर्ने तय भएको थियो । तर कोरोनाभाइरस सङ्क्रमणका कारण लगाइएको लकडाउनका कारण यसलाई जुलाई १ मा गर्ने निर्णय भएको हो । तर कोरोनाभाइरसको महामारीका कारण भिड नहोस् भनेर एक साताअघि नै मतदानकेन्द्र खुला गरिएको छ । रुसी सांसद भेलेन्टिना तेरेस्कोभा लामो समयका लागि पुटिन राष्ट्रपति भइरहनुपर्ने मान्छिन् ।
पुटिनको योजना के छ ?
एक्काइसौँ शताब्दीको रुसले केवल भ्लादिमिर पुटिनलाई मात्र शीर्ष नेताका रूपमा चिन्छ । रुसीहरूले उनलाई सन् १९९९ मा प्रधानमन्त्रीमा नियुक्त भएपश्चात् सन् २००० देखि २००८ सम्मका लागि राष्ट्रपति चुनिएको र फेरि सन् २००८ देखि २०१२ सम्म प्रधानमन्त्री बनेको र सन् २०१२ मा पुनस् राष्ट्रपति बनेको देखिसकेका छन् । पुटिनले यो कार्यकाल सकिएपछि फेरि चुनावमा उठ्ने बताएका छैनन् तर उनले त्यसलाई अस्वीकार पनि गरेका छैनन् । त्यसैले उनका आलोचकहरू उनले संविधान संशोधन जीवनभरिका लागि वा कम्तीमा पनि सन् २०३६ सम्म सत्तामा रहिरहनका लागि गर्न लागेको बताउँछन् । उनकी कट्टर समर्थक रुसी सांसद भेलेन्टिना तेरेस्कोभा लामो समयका लागि पुटिन राष्ट्रपति भइरहनुपर्ने मान्छिन् । पुटिनलाई ठूलो जनसमर्थन छ। सन् २०१८ मा भएको चुनावमा उनले ७६ प्रतिशत मत पाएका थिए । पुटिनले एक पटक त्यसतर्फ इङ्गित गर्दै भनेका थिए रुस अहिले नै राष्ट्रपति फेर्नेगरी विकास हुनसकेको छैन ।
पुटिन कसरी अपरिहार्य बने ?
रुस र पश्चिमी शक्तिबीचको शीतयुद्ध सकिनै लागेका बेला भ्लादिमिर पुटिनका लागि समय निर्णायक बनिरहेको थियो । सन् १९८९ को क्रान्तिका बेला पुटिन ड्रेज्डनमा रुसी गुप्तचर निकाय केजीबीको एजेन्टका रूपमा खटिएका थिए। उक्त क्षेत्र तात्कालिक पूर्वी जर्मनीमा पथ्र्यो । त्यस बेला त्यहाँ ठूलो मात्रामा प्रदर्शन भइरहेको थियो। त्यसैको शक्तिले प्रदर्शनकारीहरूले बर्लिनको पर्खाल भत्काए । त्यसै बेला सोभियत सङ्घको विघटन हुन थाल्यो। त्यसले गर्दा मस्कोमा नेतृत्व अभाव देखिन थालेको थियो । उनले सन् १९८९ को त्यो घटनाको बारेमा आफैँले विस्तृत रूपमा जानकारी दिएका छन् । ड्रेज्डनमा केजीबी मुख्यालयलाई भिडले घेरेपछि उनले मस्कोको सहायता खोजेका थिए तर भूतपूर्व सोभियत नेता मिखाइल गोर्बचोफले बेवास्ता गरेनन् । त्यसपछि उनले केजीबी मुख्यालयमा रहेका रिपोर्टहरू जलाएको उनीसँगको साक्षात्कारमा आधारित पुस्तक ’फस्र्ट पर्सन’मा उल्लेख छ । पुटिनको जीवनी लेख्ने जर्मन नागरिक बोरिस रित्शुस्टर भन्छन्, ‘यदि पुटिन कहिल्यै पूर्वी जर्मनी नगएका भए आज सम्भवतः हामी अर्कै पुटिन र उनको अलग्गै रूप देखिरहेका हुन्थ्यौँ।’
सत्तामा पुटिन
मस्को फर्किएपछि उनले क्रेम्लिनका लागि काम गर्न सुरु गरे। त्यसबेला रुसी फेडेरेशनका राष्ट्रपति बोरिस येल्त्सिन थिए । उनले सन् १९९९ मा भ्लादिमिर पुटिनलाई प्रधानमन्त्री नियुक्त गरे। येल्त्सिनले डिसेम्बर १९९९ मा अचानक पद त्यागको घोषणा गरे । नयाँ राष्ट्रपतिका रूपमा आएका पुटिनप्रति न नेताहरूले आपत्ति जनाए न त व्यापारीहरूले नै । तर सत्तामा आएपछि पुटिनले सञ्चारमाध्यममा नियन्त्रण गर्न थाले। त्यसले क्रेम्लिनका पुराना सहयोगी व्यापारीहरू राजनीतिबाट टाढिँदै गएको ठानिन्छ। त्यसले पुटिनको कार्यशैली पनि स्पष्ट हुँदै गएको थियो । सञ्चारमाध्यमलाई आफ्नो पक्षमा पार्नुका दुई फाइदा थिए शक्तिशाली विरोधीहरूको आलोचनालाई दबाउनु र जनतासम्म पुग्ने भाष्यलाई आफ्नो अनुकूल बनाउनु । त्यसको असर राष्ट्रपतिको लोकप्रियता र छविमा देखियो र उनी नयाँ रुसका शक्तिशाली नेता बन्दै गए। त्यसपछि रुसी नागरिकहरू त्यही देख्न पाउँछन् जे राष्ट्रपतिले देखाउन चाहन्छन् । रुसमा करिब ३,००० टेलिभिजन च्यानलहरू छन्, तर तिनमा अधिकांश समय समाचार देखाइँदैन। यदि कसैले राजनीतिसँग जोडिएको समाचार देखाउँछ भने उसले सरकारसँग अनुमति लिनुपर्छ । उनले रुसका प्रान्तीय सरकारहरूमा आफ्ना मान्छेहरूलाई गभर्नर नियुक्त गरे र बलियो बन्दै गए ।
क्षेत्रीय चुनावहरू स्थगित गराइदिए । आलोचकले त्यसलाई प्रजातन्त्रको हत्या भने पनि उनले सफलता पाए । अरब स्प्रिङको लहर चलेकै बेला मस्कोमा पनि प्रजातान्त्रिक सुधारका लागि प्रदर्शनहरू भए । पुटिनले केही सुधारात्मक कदमहरू चाले र जनमत आफ्नो पक्षमा लिने प्रयास गरे ।
क्राइमिया विजय
क्रान्तिपश्चात् युक्रेनको सत्तामा एकखाले रिक्तता देखियो। त्यो फाइदालाई उठाउँदै पुटिनले सन् २०१४ मा क्राइमिया कब्जा गरे । यो उनको सबैभन्दा ठूलो विजय थियो। पश्चिमी शक्तिका लागि भने यो ठूलो झड्का थियो । रुसले आफ्नो शक्तिको उपयोग गर्दै छिमेकी मुलुकको एक हिस्सामा कब्जा जमायो तर विश्वले त्यसलाई रोक्न केही पनि गर्न सकेन । पुटिनले पश्चिमी देशहरूको विदेश मामिलासम्बन्धी कमजोरीको फाइदा लिए । पश्चिमा शक्तिविरुद्ध उनले सिरियामा राष्ट्रपति बसर अल असदलाई साथ दिए। त्यसले उनलाई कैयौँ लाभ प्राप्त भयो । यसबाट मध्यपूर्वमा स्थिरताका लागि आवश्यक सिरियाको राजनीतिमा एक देशको पूरा नियन्त्रण छैन भन्ने सन्देश गयो। त्यहाँ उनले आफ्ना हतियार र सैन्य रणनीतिको अभ्यास गर्न पनि पाए । असद वंशलाई दिएको साथले रुसले आफ्ना पुराना मित्रलाई सधैँ साथ दिन्छ भन्ने सन्देश पनि गयो ।
नयाँ जार
रुसी राजनीतिको अध्ययन गर्ने आर्केडी ओस्त्रोभ्स्की अहिलेको अवस्था हेर्दा उनी नयाँ जार बन्ने बाटोमा देखिन्छन् । उनी भन्छन्, रुसको राजनीतिमा एक अलग्गै नेताको जन्म भयो जो दलगत राजनीतिभन्दा धेरै माथि छन् । रोचक कुरा त के छ भने गएको चुनावमा उनी निर्दलीय उम्मेद्वारका बनेका थिए । अहिले पुटिन त्यो स्थानमा छन् जहाँ उनलाई कसैले हल्लाउन सक्दैन । तर सन् २०२४ को चुनावपछि के हुन्छ त्यो भने अहिले नै बताउन कठिन छ ।
इभा ओन्टिभेरोस
बीबीसी विश्व सेवा डिजिहब