‘सभामुख ज्यू, अनुहारको दाग ऐना पुछेर जाँदैन, अबिलम्ब संसदीय छानबिन समिति गठन गरियोस्’
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले रुकुम घटनाले संसदलाई लज्जित बनएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा थापाले संविधानले स्वतन्त्रता, समानता, आत्मसम्मान, बाँच्न पाउने हक, मर्यादित जीवन जिउन पाउने हक, छुवाछुत तथा भेदभाव विरुद्धको हक र दलितको हकका कुराहरु लेखिएपनि रुकुम घटनाले लज्जित बनाएको बताएका हुन् ।
उनले भने, ‘रूकुम सोतीको नरसंहार जस्तो अमानवीय घटनालाई भवितव्य हो भनेर देखाउन,सहायक कारण देखाएर यो घटनाको जरामा रहेको उच्च जातीय अहंकारको ढाकछोप गर्न भइरहेको संगठित प्रयत्न र राज्यको लाचारीलाई यो संसदले टुलुटुलु हेरेर बस्ने हो भने लाज पनि हामीसँग लजाउँछ ।’
थापाले विभिन्न कारण देखाएर घटना ढोकछोप गर्न खोजिए सैह्य नहुने चेतावनीसमेत दिएका छन् । उनले रुकुम घटना लगायत यो लकडाउनको अवधिमा जातीय विभेदकै कारण ३२ भन्दा बढी दलितको हत्या आत्महत्या बलात्कारका घटना भएका भन्दै छानबिन गर्न अबिलम्ब सर्वदलीय संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् । सदनले समिति नबनाएसम्म आफूहरुले न्यायको लागि लडिरहने बताए ।