कोरोना भाइरसका कारण अमेरिका र अस्ट्रेलियाद्वारा चीनबाट भित्रिन नदिन यात्रा प्रतिबन्ध



कोरोनाभाइरसको बढ्दो सङ्क्रमण रोक्ने उद्देश्यले विश्वका विभिन्न देशले चीनबाट आफ्नो देशमा मानिसहरूलाई भित्रिन नदिनेगरी प्रतिबन्ध लगाएका छन्।

अमेरिका र अस्ट्रेलियाले डिसेम्बरमा उक्त भाइरस फेला परेको देश चीनको भर्खरै भ्रमण गरेका विदेशीलाई आफ्नो देशमा प्रवेश नदिने निर्णय लिएका छन्।

यसअघि रुस, जापान, पाकिस्तान र इटलीले त्यस्तै यात्रा प्रतिबन्ध घोषणा गरेका थिए। निकै कम मात्र जनस्वास्थ्य सङ्कटकाल घोषणा गर्ने अमेरिकाले पछिल्ला दुई साता चीनको भ्रमण गरेका सबै विदेशीलाई आफ्नो देशमा प्रवेश गर्न रोक लगाएको छ।

हुबे प्रान्तबाट फर्किरहेका आफ्नो देशका नागरिक र बासिन्दालाई अमेरिकाले १४ दिन क्वारन्टीनमा राख्छ। अस्ट्रेलियाले चीनबाट फर्किएका आफ्ना कुनै पनि नागरिकलाई दुई हप्ता क्वारन्टीनमा राख्ने जनाएको छ।

तर विश्व स्वास्थ्य अधिकारीहरू त्यस्ता उपायविरुद्ध छन्। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुखले शुक्रवार भनेका थिए, “यात्रा प्रतिबन्धका कारण सूचना आदानप्रदान र मेडिकल आपूर्ति संयन्त्रमा अवरोध पुग्नुका साथै अर्थतन्त्रमा क्षति पुर्‍याउन सक्छ।”

डब्ल्यूएचओले सीमावारपार गर्ने स्थानमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सुझाएको छ। सीमा बन्द गरेपछि यात्रुहरू अनधिकृत रूपमा पस्दा भाइरस झन् विस्तार हुने उसको चेतावनी छ।

चीनले आधिकारिक सल्लाहको बेवास्ता गरेको भन्दै यात्रा प्रतिबन्ध लगाउने कदमको आलोचना गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने, “डब्ल्यूएचओले यात्रा प्रतिबन्धहरूविरुद्ध सिफारिस गर्नेबित्तिकै अमेरिका उल्टो दिशातर्फ जान हतारियो, (यो) पक्कै पनि सद्भावको सङ्केत होइन।”

कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको आधिकारिक सङ्ख्या २५९ मा रोकिएको छ। सबै मृत्यु चीनभित्र भएको हो। त्यसमा पनि अधिकांशको मृत्यु भाइरस उत्पन्न भएको हुबे प्रान्तमा भएको छ।

करिब १२ हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ। चीनबाहिर त्यो सङ्ख्या करिब १०० छ। अमेरिका, ब्रिटेन, रुस र जर्मनीले हालैका दिनहरूमा सङ्क्रमण देखिएको पुष्टि गरेका छन्।

सन् २००३ मा दुई दर्जन देशमा फैलिएको सार्सको महामारीजस्तै गरी कोरोनाभाइरसको विश्वव्यापी विस्तार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज,

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक