काठमाडौँ । कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले वरिष्ठ सस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबाबु ग्वङ्गलाई ‘बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार’ प्रदान गरेको छ ।
थापाको १०३औँ जन्मजयन्ती तथा गुठीको २८औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा संस्कृति र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत उनलाई दुई लाख २२ हजार २२२ राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।
नेपाली कांग्रेसका एवं बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा शेखर कोइरालाले प्रदान उक्त पुरस्कार प्रदान गरे ।
कार्यक्रममा वरिष्ठ समाजसेवी तथा चित्रकलाकार श्रीमती उर्मिला गर्गलाई दुई लाख २२ हजार २२२ नगदसहितको ‘सेवा पुरस्कार नेपाल’ प्रदान गरियो ।
गुठीले ललितपुर पुल्चोकमा चमेना गृह सञ्चालन गर्दै आएकी सानुकान्छी तामाङ र काठमाडौँ हनुमानढोकामा पुष्प व्यवसाय सञ्चालन गर्दै आएकी मिनु मालाकारलाई जनही २५ हजार राशिको श्रम सम्मान प्रदान गरियो ।
कार्यक्रममा गुठीको मुखपत्र ‘सेवा नेपाल, २०८२’ दमननाथ श्रद्धाञ्जलि अङ्क र ‘बहुआयामिक व्यक्तित्व दमननाथ ढुङ्गाना’ नामक ग्रन्थको लोकापर्ण गरियो । ती दुवै कृतिमा पूर्वसभामुख ढुङ्गानाको राजनीतिक व्यक्तित्व र नेपालको संसदीय इतिहासमा उहाँले खेलेको भूमिकासम्बन्धी विभिन्न व्यक्तिका विचार समावेश छन् ।
त्यस अवसरमा गुठीले सिन्धुली खनियाखर्कस्थित ऋतम्भरा विद्यालयका १०० जना विद्यार्थीका लागि शैक्षिक सामग्री र लतिलपुरको बङ्गलामुखीस्थित पाटी निर्माणका लागि २५ हजार सहयोग प्रदान गरेको छ ।
राष्ट्र सेवामा समर्पित कुशल प्रशासकको छवि बनाएका स्व थापाले नेपालको लोकतन्त्र स्थापना र समाजसेवामा विशिष्ट योगदान पुर्याएका थिए । उनको जन्म विसं १९८१ मा भएको थियो ।

प्रतिक्रिया