‘एकलाख मान्छे उतार्छु भन्थ्यो, एकलाख जरिवाना हात पारेर गयो !’
काठमाडौँ । नेकपा एमालेले शुक्रबार काठमाडौँमा जागरणसभा आयोजना गर्यो । काठमाडौंको दरबारमार्गमा सभा हुनुअघि भद्रकालीबाट सुरु भएको र्याली शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत भएको थियो । एमालेको र्यालीका कारण काठमाडौं उपत्यकाको यातायात आवागमन अस्तव्यस्त बन्यो । राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले आयोजना गरिएको भनिएको सभामा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा अध्यक्ष ओली र महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीदेखि कुलमान घिसिङ, दुर्गा प्रसाईं हुँदै माओवादीसम्मको उछितो काडे । कतिपय विषयमा स्पष्टीकरण दिए । तर सरकारमै रहेको दल सरकारलाई खबरदारी गर्न भन्दै सकडमा आएको भन्दै एमालेको आलोचना भएको छ ।
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललाई भने नागरिकको आक्रोशलाई कामको परिणामबाट शान्त पार्नुको साटो सरकारको नेतृत्व गरेको दलनै सडक कब्जा गर्नेतिर लाग्नु अनौठो लाग्यो । उनी भन्छन्, ‘नागरिकको आक्रोशलाई कामको परिणामबाट शान्त पार्नुको साटो सरकारको नेतृत्व गरेको दलनै सडक कब्जा गर्नेतिर लाग्नु अनौठो लाग्यो । जनताले पाउने हैरानीले झनै आक्रोश बढाउने मात्र होइन कि यसबाट हुने राष्ट्रिय नोक्सानी जस्ता कुरालाई दलहरूले गम्भीरतापूर्वक लिउन् । समय सधैं एउटै रहँदैन ।’
वरिष्ठ पत्रकार कनकमणि दीक्षित सरकार भएको दलले सडकमा शक्ति प्रदर्शन गर्नु अनुचित भएको बताउँछन् । उनी भन्छन्, ‘नेपाल, जहाँ पीक पर्यटन सिजनमा एयरपोर्ट दिनको १० घण्टा बन्द गरिन्छ । जहाँ सरकार हाँक्ने दलले नै जनतालाई सास्ती दिँदै, अर्थतन्त्रलाई असर पर्नेगरी शहरको माझमा ‘शक्ति प्रदर्शन’ गर्छ।’
लेखक जुगल भुर्तेल सहरको मुख्य क्षेत्रको सडक कब्जा गरेर अराजकता गर्नु अुचित भएको बताउँछन् । उनको भनाई छ, ‘सहरको मुटुमा रहेको बाटो नै कब्जा गरेर देखाइएको यो अराजकता कति महँगो पर्ने हो, हेर्न बाँकी छ । माओवादीको शक्ति प्रदर्शन त यादै होला कामरेडलाई !’
जागरणसभाले राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम भयो भनेर एमालेजनले नै जानुन् । तर जागरणसभाका क्रममा गरिएको फोहोर फुटपाथ र सडकमै छाडिएपछि महानगरले एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गर्यो ।
कवि अर्जुन पराजुलीले यसरी व्यंग्य गरेका छन्ः
ऊ जितेर गयो कि हारेर गयो ?!
फोहोर सडकमा झारेर गयो !
एकलाख मान्छे उतार्छु भन्थ्यो,
एकलाख जरिवाना हात पारेर गयो । !