सम्मानित अदालतको कुरै नगरौँ, त्यहाँ बसेपछि त जे गर्दापनि हुन्छ जस्तो भइरहेको छः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिँडाउन खोजेको आरोप लगाएका छन् ।
नेकपा एमाले झापा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिँडी कान्ला–कान्ला र भीरबाट हिडेको बताएका हुन् । उनले निर्वाचन आयोग पनि संविधान र कानूनको राजमार्गमा हिँड्न छाडेको बताए ।
उनले अदालतमा बसेपछि जे पनि गर्न सकिने जस्तो भइरहेको पनि बताए । उनले भने, ‘राजनीतिलाई कुबाटोबाट हिडाउन खोजिएको छ । राजमार्गबाट सभामुख हिँड्न मान्दैनन् । बाटाबाट हिड्न मान्दैनन् । कान्ला कान्ला, भिर भिर कुद्छन् । निर्वाचन आयोग संविधानको, कानूनको राजमार्ग छ त्यो राजमार्ग छोडेर भित्तातिर ठोक्किन जान्छ । सम्मानित अदालतको कुरै नगरौँ । त्यहाँ बसेपछि त जे गर्दापनि हुन्छ । त्यही भइरहेको छ ।’
अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धनले अलोकतान्त्रिक अभ्यास गरिरहेको भन्दै आगामी चुनावमा वर्तमान सत्तारुढ गठबन्धन भत्किने बताए । उनले अहिले अलोकतान्त्रिक कार्य भइरहेको भन्दै त्यो चिन्ताको विषय भएको बताए ।