चार्वाकीय दार्शनिक चिन्तन वैदिक नै हो
डा. गोविन्दशरण उपाध्याय ।
चार्वाकको दार्शनिक चिन्तन जतिधेरै आलोचित छ त्यतिनै धेरै चर्चित पनि छ । वैदिक दर्शनको यो एउटा महत्वपूर्ण विधा हो जसले साम्प्रदायिकताको खरो आलोचना गर्छ । आजसम्मका दार्शनिक र विचारकहरूले चर्वाकहरूले धर्मको निन्दा गरेका छन् भन्ने भ्रामिक विचार दिएका छन् । यो सत्य होइन । असलमा, चर्वाक दार्शनिकहरूले सम्प्रदाय र सम्प्रदायहरूले विकास गरेका रितिरिवाज, संस्कार, संस्कृतिको आलोचना गरेका हुन् । उनीहरूको आलोचना धार्मिकताप्रति छैन, उनीहरूको आलोचना सम्प्रदायिकता केन्द्रित छ ।
भारतवर्ष वाहिर विकसित भएका एकेश्वरवादी चिन्तनको प्रभावमा नेपाली र भारतीय विद्वानहरू गहिरोसंग परेका छन् । त्यो प्रभावले गर्दा हिन्दू संस्कृति समेत लांछित भएको छ । धर्म शब्दले “मूसाई“को सर्वसत्तावादी चिन्तनलाई बुझ्दा तिनका सबै कमसल पक्षहरूको भारी व्यर्थमा हिन्दू संस्कृतिले बोक्नु परेको छ । उनीहरूका कुकृत्यहरूको दोष खप्नु परेको छ ।
केही बामपन्थी खेमाका विद्वानहरूको गुनासो “सनातनीहरूले चार्वाक दर्शनको महत्व बुझेनन् र तिनको आलोचनामात्र गरे“ भन्ने रहेको छ । केही प्रगतिशील चिन्तनहरूले “चार्वाक दार्शनिकहरू प्राचीन वैदिक समाजका वैज्ञानिक“ हुन् भन्ने र केही अन्य नेपाली र भारतीय बामपन्थीहरूले चार्वाक दर्शनलाई “बैज्ञानिक चिन्तनको आधारशीला“ भनेर प्रसंशा गरेका छन् । सबैको आआफनो बुझाई हो । तर तथाकथित चार्वाक पक्षधरहरूले “प्राचीन सनातनीहरूले चार्वाकहरूको आलोचना मात्रै गरे र निमिट्यान्न पार्ने प्रयत्न गरे“ भन्ने विचार अनुचित हुन् र अबुझ वा पूर्वाग्रही चिन्तनका परिणाम हुन् ।
कमसल चिन्तन र व्यबहारको आलोचना गर्नु गलत होइन । यदि चार्वाकहरूले अन्धविश्वास, अनैतिक रितिरिवाज र अनुचित व्यवहारको खुलेर आलोचना गरेका छन् भने चित्त दुखाउने कुनै कारण देख्दिन । चार्वाकीय चिन्तन पनि वैदिक सभ्यताको एउटा बलियो अंश हो जसले विपरित चिन्तनहरूलाई प्रतिनिधित्व गर्छ भने वैदिक हिन्दू समाजको प्राकृतिक समानुपातिकता र सहिष्णुतालाई प्रदर्शित गर्छ । मैले आजसम्म वैदिकहरूले भिन्न विचार भएकै कारण कसैको हत्या गरे“ भन्ने इतिहास पढेको छैन ।
सबैले स्वीकार गरेको कुरा हो कि भौतिकवादी (शरीर केन्द्रीत सुख) चिन्तनका बीजहरू ऋग्वेद, अथर्ववेद र केही उपनिषदहरूमा प्रखररुपले उपलब्ध छन् । प्राचीन तथा अर्वाचीन साहित्यहरूमा पनि भौतिकवादी चिन्तन राईछाई नै छन् । त्यसैले यो चिन्तनलाई लोकायत पनि भनिएको हो किनभने ऋषिमुनि होस् वा सर्वसाधारण सबैलाई आफ्नो व्यक्तिगत सुखको पर्वाह हुन्छ । जसले शरीरको माया गर्छ ( भौतिकवादबाट निरस्त रहन सक्दैन । आध्यात्मवादी चिन्तनको संवाहक हुँदैमा कुनै पनि व्यक्ति भौतिकतावादबाट उन्मुक्त हुन्छ भनेर ऋषिहरूले बोलेका छैनन्, बरू “धर्मका लागि शरीर एकमात्र निर्विकल्प साधन हो“ भनेर घोषणा गरेकै छन् ।
सत्य हो कि प्राचीन धार्मिक तथा दार्शनिक ग्रन्थहरूमा चार्वाकीय चिन्तनको धेरै आलोचना भएको छ । यस्तो आलोचना मूलतः चार्वाकका “नैतिक चिन्तन“का कारण भएको हो । समाजले स्वीकृत गरेका सदाचारहरूको आलोचना गर्दा वा ती सदाचारहरूप्रति उन्मुक्त रहन “आह्वान“ गरेको हुँदा तिनको आलोचना भएको हो । सांख्य तथा वैषेशिकहरूले सदाचारहरूको आलोचना गरेनन्, उनीहरूको दार्शनिक समालोचना मात्र भयो । समाजमा स्थापित नैतिक आदर्शहरूको आलोचना गर्दा चार्वाकहरू बढी आलोचित भएका हुन् ।
मैले भौतिवादी वा अध्यात्मवादीहरूको पक्ष वा विपक्षका लागि चार्वाक दर्शनको कुरा गरेको होइन । मेरो उद्देश्य चार्वाक चिन्तन पनि वैदिक मूलधारकै दार्शनिक चिन्तन हो र अन्य दार्शनिक चिन्तन सरह आदरणीय थिए र छन् भन्ने अभिमत तयार गर्नु रहेको छ । मलाई “नैतिक र अराजक गरी चार्वाक दर्शनका दुई वर्गीकरण स्वीकार्य छैनन् । प्राचीन वैदिक, जैन तथा बौद्ध साहित्यहरूले यस्तो कुनै उल्लेख छैन । पश्चिमा भौतिकवादको प्रभावले नेपाली र भारतीयहरूमा “चार्वाक“हरूप्रति कोमल बन्ने मनोविज्ञानको प्रस्फुटन हो । मूलतः चार्वाक चिन्तन एकै प्रकारको छ ।
अव मुद्दामा फर्कौं । ऋग्वेदमा नै भौतिकवादी चिन्तनका उद्गारहरू उपलब्ध भएको हुँदा भौतिकवाद अवैदिक चिन्तन होइन । चार्वाक दार्शनिक चिन्तन परम्परागत आत्मा, परमात्मा, स्वर्गनर्क, पुनर्जन्म, कर्मतन्त्रमा विश्वास गर्दैन त्यसैले आत्मा, परमात्मा, स्वर्गनर्क, पुनर्जन्म, कर्मतन्त्रमा विश्वास गर्नेहरूबाट आलोचनामा पर्नु स्वाभाविक मान्नुपर्छ । वेद आफैले भौतिकवादी चिन्तनको आलोचना गरेको छैन । यो तथ्य प्राचीन ऋषिमुनिहरूलव (दार्शनिक चिन्तक) बुझेका मात्र होइन, आत्मसात् समेत गरेका थिए ।
यही स्वीकारोक्तिको परिणाम हो कि चार्वाकीय दार्शनिक चिन्तनको स्रोतका रूपमा देवगुरू बृहस्पतिलाई स्वीकार गरियो । प्राचीन ऋषिमुनि वा चिन्तकहरूले चार्वाकीय दार्शनिक चिन्तनको महत्व अस्वीकार गरेको भए देवगुरू बृहस्पतिलाई यस चिन्तनको संस्थापकका रूपमा स्वीकार गरिन्न्थ्यो । दोस्रो कुरा, आध्यात्म र बाल्मिकि रामायणमा भौतिकवादका प्रस्तोताहरूलाई “मुनि“ शब्दको प्रयोग गरिएको छ मुनि अत्यन्त सम्मानित शब्द र सम्बोधन हो । बौद्ध र जैन साहित्यहरूमा पनि “चार्वाक“का लागि मुनि शब्द नै प्रयोग गरिएको छ । त्यतिमात्र होइन, सर्वदर्शन संग्रहका लेखकले समेत “मुनि“ शब्दकै प्रयोग गरेर चार्वाक दर्शनको संक्षिप्त परिचय प्रस्तुत गरेका छन् ।
केही वर्ष पहिले डा. काशिनाथ न्यौपानेले अनुवाद गरेको “तत्वविप्लवसिंह“ भन्ने चार्वाक दर्शनको एकमात्र उपलब्ध ग्रन्थ नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशमा ल्याएको छ । यो ग्रन्थ “दार्शनिक तत्व“हरुको समालोचनामा केन्द्रित भएको पढ्न सकिन्छ । यो ग्रन्थमा रितिरिवाजहरूको यदाकदामात्र आलोचना भएको छ । यसको अर्थ हो, चार्वाकीय दर्शन भौतिकवादी अवश्य थियो तर अहिले प्रचारप्रसार गरिएझैं अराजकतावादी थिएन । “बाँचुन्जेल ऋण गरेर भए पनि मोज गर्नुपर्छ“ भन्ने विचारहरूलाई चार्वाकसंग किन जोडियो ? आश्चर्य लाग्छ । यदि यी अराजक विचारहरूका स्रोत चार्वाक नै हुन् भने तिनको आलोचना हुनैपर्छ । आध्यात्मिक विचारसँग असहमत हुनु सैद्धान्तिक वहस हो तर रितिरिवाजप्रति नै असहिष्णुता प्रकट गर्नु र अनुयायिहरूलाई अराजक बन्न उक्साउनु अराजकता हो । म फेरि दोहोर्याएर भन्छु, चार्वाकको दार्शनिक चिन्तानको भरपुर स्वागत गरिएको छ तर उनीहरूका अराजक विचारहरूका आलोचना भएको छ । भौतिकवाद वैदिक चिन्तन हो तर अराजकता होइन ।
चार्वाकीय दार्शनिकहरू मुनि थिए, तत्वलाई “भौतिक रूपमा“ बुझेका थिए । शारीरिक सुखवाद र भौतिकतत्ववाद उनीहरूका दार्शनिक चिन्तनको उत्कर्ष थियो । प्राचीन समयमा राजा वेनले चार्वाक दार्शनिक चिन्तनको राजकीय प्रयोग गरेका थिए । यद्यपि रावणआदि राजामा पनि भौतिकवादी चिन्तनको प्रभाव थियो तर यी राजाहरू कर्म, पुनर्जन्म तथा पापपुण्यका चिन्तनबाट मुक्त थिएनन् । राजा बेन वाहेकका राजाहरूले तपस्या गरेर देवताहरूबाट अतिरिक्त शक्ति प्राप्त गरेको इतिहास छ । राजा वेनमा एस्तो प्रबृत्ति देखिन्न । राजा बेनले राजनैतिक शक्तिको रूपमा भौतिकवादको स्थापना गर्ने प्रयत्न गर्दा तेस वखतका जनतालाई सह्य भएन र वेन आफ्नै जनताबाट मारिए ।
प्राचीन ग्रिकेली डेमोक्रेस्ट्स र ल्युपिससको परमाणुवादी चिन्तनलाई कार्लमाक्र्सले आफ्नो दार्शनिक चिन्तनको स्रोतका रूपमा अथ्र्याएका छन् । नेपाली वामपन्थीहरूले कार्लमाक्र्सले झैं चार्वाक दर्शनलाई डेमोक्रेट्ससरह देख्न चाहन्छन् । यो चाहनाले दुई तत्थ्यहरू सिद्ध हुन्छन्
(१) नेपाली वामपन्थीहरू बामपन्थीहरूको संसारमा चार्वाकहरूको पनि डेमोक्रेटस सरह उल्लेख होस् भन्ने चाहन्छन्
(२) वेदमा उल्लेखित भौतिकवाद बैज्ञानिक प्रगतिशील तवाकाले स्वीकार गरोस् भन्ने चाहना राख्छन् । यस अर्थमा नेपाली वामपन्थीहरू पनि आफ्नो प्राचीन धरोहरप्रति सचेत छन् तर पश्चिमा मार्क्सवादी प्रभावले गर्दा अध्यात्मवादीहरूले चार्वाकीय दार्शनिक चिन्तनलाई दिएको महत्व स्वीकार्न चाहन्नन् । वामपन्थी चिन्तनको सबैभन्दा ठूलो दुर्गुण भनेकै अर्काले गरेका असल क्रियाकलाप स्वीकार्न नसक्नु हो । चर्वाकीय दार्शनिक चिन्तनलाई नेपाली दृष्टिकोणले बुझ्नुपर्छ । तवमात्र चार्वाक मुनिले सम्मान प्राप्त गर्छन् । पश्चिमा दृष्टिकोणले हेर्दा चार्वाकहरू चरम अवैदिक देखिन्छन् तर चार्वाकलाई प्रयोग गरिने मुनि शब्द, वेदमा भौतिक चिन्तनको उल्लेख हुनु, चार्वाक दर्शनी चिन्तनका संस्थापकका रूपमा देवगुरु बृहस्पतिलाई मन्याया दिनु र वाल्मिकी तथा महाभारतमा जावाली ऋषिका रूपमा चार्वाक चिन्तनको उपदेशकका रूपमा अगाडी सार्नु यी सबैले चार्वाकीय चिन्तनप्रति समाजले सम्मान जनक व्यबहार गर्ने सिद्ध गर्छन् ।
आफूलाई मन नपरेको चिन्तनको शास्त्रीय आलोचना वा शास्त्रार्थमा पराजित गरेर आफ्नो अनुयायी बनाउनु वैदिक सभ्यताको प्राचीन परम्परा हो । मलाई लाग्छ, चार्वाक् चिन्तनका अनुयायिहरू पनि अन्य मतका अनुयायिहरूसंग पराजित भए होलान् र आफ्नो मत छोडेर विजेताको चिन्तन व्यबहारमा स्वीकार गरे होलान् । सनातन संस्कृतिमा यस्ता धेरै उदाहरण छन् । प्रसिद्ध वैदिकहरू जैन मुनिहरूसंग शास्त्रार्थमा पराजित भए पछि जैन प्रचारक बनेका छन् । यही प्रसंग बौद्ध-हिन्दू, हिन्दू-बौद्ध, जैन-हिन्दू, हिन्दू-जैन तथा भौतिकवादी र आध्यात्मवादीहरूका लागि पनि चरितार्थ हुन्छ ।
सारांशमा भन्नुपर्दा, चार्वाकीय दार्शनिक चिन्तन पनि वैदिक नै हो र वैदिक ऋषिहरूले (स्मरण रहोस्, बृहस्पति वैदिक मन्त्रद्रष्टा ऋषि हुन्) आध्यात्मवाद भन्दा पृथक भौतिकवादी चिन्तन सृजित गरेका हुन् । यी बीच बैचारिक द्वन्द्व भए पनि आचरणका सवालमा कुनै द्वन्द्व थिएन भन्ने मेरो विश्वास छ । त्यसैगरी प्राचीन वैदिक सामाजिक जीवनमा चार्वाकहरूको उच्चतहको सम्मान थियो त्यसैले उनीहरूले “मुनि ऋषि“ पद प्राप्त गरेका थिए । उनीहरू अराजक थिएनन् र उनीहरू आधुनिक अर्थमा विज्ञानका संस्थापक पनि होइन । आजको भौतिकवादी चिन्तनसँग चार्वाकहरूका चिन्तनको सामिप्य हुनु महज काकताली हो भन्न सकिन्छ ।