थप ९०२ जनालाई कोरोना संक्रमण, एकैदिन २,२८७ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९०२ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको छ । क्वारेन्टाइनमा ५,३१० जना रहेका छन् ।
आइसोलेसनमा १४,८६८ जना सक्रिय संक्रमित रहेका छन् । मंगलबार थप २२८७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३२,९६४ पुगेको छ । यो निको हुने दर ६८.५ प्रतिशत भएको मन्त्रालयले जनाएको छ ।
आइसियूमा १४४ जना उपचाररत छन् भने भेन्टिलेटरमा २३ जनाको उपचार भइरहेको छ । यसैबीच, विगत २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा एक जना, पर्सामा दुई जना, काठमाडौंमा एक जना र कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३०६ पुगेको छ ।