‘म मेरा सन्तान राम्रो देशमा हुर्किउन् भन्ने चाहन्छु’
आफ्ना बालबालिकाको लालनपालनका निम्ति इराक कहिले राम्रो देश बन्ला भनेर कल्पना गर्न गाह्रो छ। इराकको हालैका युद्ध, आक्रमण, अत्याचार र साम्प्रदायिक हिंसाको इतिहासले मानिसहरूमा गहिरो मनोवैज्ञानिक आघात पारेको छ।
लापरवाही र प्रतिस्पर्धाको अभावका कारण इराकका सार्वजनिक निकायहरू यति गए गुज्रेको भएका छन् कि खत्तम हुने विन्दुमा पुगिसके। अर्थतन्त्र निकै खराब भएको छ, भोकमरी व्याप्त छ र देशका राजनीतिक नेताहरूले सबै सम्मान गुमाइसके।
आर्थिक कठिनाइ र व्यापक भ्रष्टाचारका कारण हजारौँ मानिसहरूले सडकमा विरोध प्रदर्शन गरेका छन् र अराजकता व्याप्त छ। प्रदर्शनका कारण सयौँ मानिसहरूले ज्यान गुमाएका छन्।
यस्तो अव्यवस्थाकामाझ एउटा आशाको किरण देखापरेको छ। र त्यो आशाको किरण बग्दादको प्रहरी मेजर अजिज नाशरको रूपमा आश्चर्यजनक रूपमा उदाएको छ।
सहयोगका लागि १० हजार अनुरोध
आफूलाई देशभक्तका रुपमा स्वयं स्वीकारेका मेजर काम गरिरहने खालका मानिस हुन्। उनी नयाँ पुस्ताका पुलिस कमान्डरमध्ये एक हुन् र देख्नमा आधुनिक देखिन्छन्, मिडियाको प्रयोग राम्रो सँग जानेका छन् र जनताको सेवा गर्न प्रतिवद्ध छन्।
सार्वजनिक मामिलासम्बन्धी विभागका प्रमुख रहेका उनको सामाजिक सञ्जालमा राम्रै उपस्थिति छ। कहिलेकाहीँ उनलाई सहायता वा सुझावका लागि एकै दिनमा १० हजार अनुरोध पनि आउँछन्।
उनको व्यक्तिगत उद्देश्य भनेको बग्दादको प्रहरीको कमजोर छवि उकास्नु हो। अस्तित्वमै नरहेका सार्वजनिक सेवाले उत्पन्न गराएका खाडललाई पुर्न उनी मानिससम्म पुग्न चाहन्छन्।
उनलाई धेरै कुरा हासिल गर्नुछ।सद्दामको पालामा बग्दादको प्रहरी फौजले त्यतिबेलाको दमनकारी शासनकाल इमानदारीपूर्वक सञ्चालन गरे।उक्त शासनकाल भ्रस्टाचार र असक्षमताको पर्याय बनेको थियो।अमेरिकाविरोधी विद्रोहको बेला बग्दादका प्रहरीमाथि कायरताको आरोप लाग्ने गर्थ्यो।
खतराका बेला प्रहरी चौकी पछि हटेको र उद्धारका लागि अमेरिकी सेनाको भर परेको भन्ने आरोप लाग्ने गर्थ्यो।यसले गर्दा पहिल्यै बिग्रिएको प्रहरीको छविलाई थप असर पुर्याएको थियो। तर मेजर अजिज एक प्रतिवद्ध आशावादी व्यक्ति हुन्।प्रहरी फौजको समस्याहरू उनी स्वीकार्छन्।
उनी त्यसलाई सच्च्याउनका लागि कडा मिहिनेत गर्न खोज्छन्। उनको त्यो दृढताको पहिचान कमाण्डिङ जेनेरलले गरेका छन् जसले उनलाई त्यस्ता घटना भएका ठाउँ वा जहाँ उनको आवश्यकता छ त्यहाँ जान अनुमति दिएका छन्।
बालबालिका उद्धार
ड्यूटीमा भएका बेला उनको कामलाई पछ्याउनु भनेको बग्दादको अहिलेको दैनिक जीवनको अँध्यारो पक्षको यात्रा गर्नु हो। चार बच्चाकी आमाले गरेको आत्महत्याको प्रयासको घटनामा हिरासतबाट ती आमालाई छोड्नुअघि मेजर अजिजले ती महिलाका परिवारसँग उनको हत्या हुनसक्ला भन्ने आशङ्कामा कुराकानी गर्छन्।
आत्महत्याको प्रयास त्यस्तो काम हो जसले महिलाका परिवारको अपमान हुने ठानिन्छ। त्यसको केही घण्टापछि अजिज मस्जिदमा नजिकै छोडिएका पाँच बालबालिका भएको ठाउँमा पुग्छन्।
ती पाँच बालबालिकामध्ये सबैभन्दा कान्छा पाँच वर्षभन्दा कम उमेरका छन्।उनीहरूको काकीले उनीहरूलाई त्यहीँ बसिरहे मिठाई दिने भन्दै त्यहाँबाट गइन्। र, कहिल्यै फर्किनन्।
आफ्नो बच्चामा सिकाइको समस्या भएका मेजर अजिजले ती पाँचजना बालबालिकाको भेट परिवारसँग नभए आफैँले उनीहरूलाई राख्ने घोषणा गरे। बालबालिका उपेक्षामा पर्नु र छोडिने जस्ता समस्या बढ्दो छ।
धेरै परिवारहरू उनीहरूलाई पाल्न असमर्थ छन्।खानेकुराको जोहो गर्नेहरूकै मृत्यु हुने वा घाइते हुने कारणले पछिल्लो दुई दशकमा समस्या थप बढाएको छ।मेजर अजिज भने रोकिँदैनन्। उनका कमाण्डरले इराकको अदालतले मृत्युदण्ड दिएका एक हत्यारालाई सोधपुछ गर्न भनेका छन्।
ती व्यक्तिले जर्मनीमा भएको विवाह कार्यक्रममा आफन्तको हत्या गरे र पक्राउमा पर्नुअघि नै इराक फर्किए।आफ्नो विवाह प्रस्ताव अस्वीकार गरेर ती महिलाले आफ्नो बेइज्जत गरेको दाबी ती हत्याराले गरेका छन्। ती हत्याराका परिवारले यदि उनलाई मृत्युदण्ड दिइए जातीय बदला लिने धम्की दिएका छन्। दुई परिवारबीचको वार्ता रोकिएको छ।
छोटो समाधान
मेजरको कामको गति अनवरत छ। सहरको केन्द्रमा एउटा सानो कार दुर्घटना हुँदा त्यसले ठूलो ट्राफिक जाम गराएको छ। दुवै चालकले गल्ती स्वीकारी रहेका छैनन्।उक्त समस्यालाई छिटो समाधान गर्नका लागि अजिज त्यहाँ पुगेका छन्। उनले क्षतिका लागि आफ्नै खल्तीबाट पैसा झिकेर दिए। त्यो उपायले काम गर्यो।
त्यस्तो अवस्थामा पैसा लिनु शोभनीय हुँदैन थियो र दुवै चालकले आफ्नो अडान छोडे। ट्राफिक जाम केहीबेरमै खुल्यो। प्रत्येक साता मेजर अजिजले दुई घण्टा खुला कार्यक्रम गर्छन् जहाँ नागरिकहरू आएर मद्दत माग्न सक्छन्।
मानिसप्रतिको त्यो लगन र त्यो सँगै आउने लोकप्रियताले मेजरका केही शत्रु पनि बनेका छन्। कम प्रतिस्पर्धी प्रहरीहरू उनको ख्यातिको डाहा गर्छन्। गत वर्षको सेप्टेम्बरमा उनलाई जागिरबाट निकालियो। उक्त घटनाले उनलाई दुखी बनायो र उनी रोए। तर उनका सहयोगीहरूले हस्तक्षेप गरे र उनी पुन: काममा फर्किए।