औपचारिक रूपमा सार्स-कोभ-२ (Sars-CoV-2) नाम दिइएको कोरोनाभाइरस चमेराहरूलाई सङ्क्रमित तुल्याउने भाइरससँग मिल्दोजुल्दो छ। त्यो भाइरस चमेराबाट कुनै अज्ञात जनावरमा सर्दै मानिसमा सरेको विश्वास गरिएको छ।
त्यो अज्ञात जनावर प्रष्ट भइसकेको छैन। त्यो थप सङ्क्रमणको कारक पनि बन्न सक्छ।
६. के गर्मी याममा सङ्क्रमण कम होला
फ्लू वा रुघाजस्ता रोग गर्मी महिनामा भन्दा जाडो महिनामा बढी देखिने गर्छन्। तर न्यानो हावापानीमा यो भाइरस फैलिने क्रममा कमी आउँछ कि आउँदैन भन्ने अझै प्रष्ट भइसकेको छैन।
ब्रिटेन सरकारका विज्ञान सल्लाहकारहरूले कोरोनाभाइरस सङ्क्रमणमा मौसमी प्रभाव हुन्छ कि हुँदैन भन्नेबारे प्रष्ट नभइसकेको चेतावनी दिएका छन्। उनीहरूका विचारमा यदि त्यस्तो असर भइहालेमा त्यो फ्लूको भन्दा कम हुन्छ।
यदि कोरोनाभाइरस सङ्क्रमणको दर गर्मी महिनामा कम भएमा फेरि जाडो महिनामा त्यो फैलिने क्रम बढ्न सक्छ। त्यतिबेला अस्पतालहरूलाई बिरामीको चाप धान्न मुस्किल हुनेछ।
७. केही मानिसमा किन गम्भीर लक्षण देखिन्छन्
धेरै मानिसमा कोभिड-१९ का सामान्य लक्षण मात्रै देखिन्छन्। तर झन्डै २० प्रतिशतमा गम्भीर लक्षण देखिन्छन्। किन होला?
मानिसको प्रतिरक्षा प्रणालीको अवस्थाले त्यसमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ। केही कुरा व्यक्तिको आनुवंशिक गुण र विशेषतामा पनि भर पर्न सक्छ।
त्यसबारे जति धेरै ज्ञान प्राप्त हुन सक्छ त्यसले सघन उपचार गर्नु पर्ने बिरामीको सङ्ख्या घटाउन त्यति नै ठूलो सहयोग पुर्याउन सक्छ।
८. मानिसको प्रतिरक्षा क्षमता कति समयसम्म रहला
कोरोनाभाइरससँग सङ्घर्ष गर्न सक्ने मानिसको प्रतिरक्षा क्षमताबारे धेरै अनुमान गरिएको छ। तर त्यसतो क्षमता कति समयसम्म रहला भन्ने बारे निकै थोरै प्रमाणहरू उपलब्ध छन्।
यदि कुनै बिरामीको शरीरले कोरोनाभाइरसँग राम्ररी सङ्घर्ष गरेको छ भने उसको प्रतिरक्षा प्रणालीलाई राम्रै मान्नुपर्छ। तर यो रोग केही महिनाअघि मात्र देखा परेकोले यसबारे पर्याप्त तथ्याङ्क उपलब्ध छैन।
कुनै बिरामीमा दोस्रो पटक पनि यो भाइरस देखिएको विषय सङ्क्रमण भए नभएको परीक्षण गर्ने विधि र पद्धतिको विश्वसनीयतासँग गाँसिएको हुन्छ। त्यो विधिले कहिलेकाहीँ सही परिणाम नदेखाएको पनि हुन सक्छ।
९. के भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्ला
भाइरसहरू बारम्बार आफ्नो स्वरूप र गुण परिवर्तन गरिरहन्छन्। तर उनीहरूको आनुवंशिक सङ्केतलाई चलाउँदा धेरै फरक पर्दैन।
त्यसरी भाइरसहरूले आफ्नो स्वरूप फेर्ने क्रम जारी राख्दा उनीहरू लामो समयपछि कम घातक हुन्छन् भन्ने समान्य नियम छ। तर त्यो निश्चित भने हुँदैन।
चिन्ताको विषय चाहिँ यो हो – यदि यी भाइरसहरूले आफ्ना स्वरूप फेरे भने तिनलाई मानिसको प्रतिरक्षा प्रणालीले नचिन्न पनि सक्छ र कुनै भ्याक्सीन वा खोपको विकास गरिहालियो भने पनि त्यसले काम नगर्ने अवस्था आउन सक्छ।
भाइरसले स्वरूपमा परिवर्तन गरेकै कारण फ्लू रोग नियन्त्रण गर्ने खोपले राम्रो काम नगरेका उदाहरणहरू प्रशस्त छन्।
जेम्स ग्यालहर
स्वास्थ्य तथा विज्ञान सम्वाददाता, बीबीसी