नेप्सेमा ४९ अंकको वृद्धि
काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार उच्च अङ्कले बढेको छ । बिहीबार नेप्से ४९ दशमलव १५ अङ्कले बढेर २ हजार ८ सय १५ दशमलव ०४ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा बैंक समूह ३ प्रतिशतभन्दा धेरै र उत्पादन समूह झन्डै ३ प्रतिशतले उकालो लागेको छ । आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, अपर हेवा खोला जलविद्युत्, सिन्धु विकास बैंक, दोर्दी खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
बजार उच्च अङ्कले बढेको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने ७ प्रतिशतभन्दा धेरैले घटेको छ । आज कारोबार रकम पनि बढेको छ । आज ३ सय वटा कम्पनीका २ करोड ६१ लाख कित्ता शेयर ११ अर्ब ३९ करोड रुपैयाँमा कारोबार भएका छन् ।