नयाँ बसपार्कमा लोत्से मल शुभारम्भ



काठमाडौं । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा निर्माण गरिएको लोत्से मलको शुभारम्भ गरिएको छ । लोत्से बहुउद्देश्यीय प्रालिको एक अर्ब २५ करोडको लगानीमा निर्माण गरिएको लोत्से मलको शुक्रबार प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवर, सञ्चालक हर्कबहादुर तामाङ र लक्ष्मी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुविद भट्टराईले संयुक्तरुपमा शुभारम्भ गरे ।

सो अवसरमा अध्यक्ष कुँवरले अस्तव्यस्त रहेको नयाँ बसपार्कलाई व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको बनाउन अव्यवस्थित टहरा हटाएर सुविधासम्पन्न मल निर्माण गरेको बताए ।

उनले भने, “नेपाल सरकारले लिएको लक्ष्यअनुसार नयाँ बसपार्कलाई सभ्य र भव्य बसपार्क बनाउन लोत्से बहुउद्देश्यीय प्रालि लागेको छ ।”

नयाँ बसपार्कलाई २४ सैँ घण्टा सञ्चालन गर्ने वातावरण निर्माणका लागि लोत्से बहुउद्देश्यीय प्रालि लागेको अध्यक्ष कुँवरको भनाइ छ । उनले देशको समृद्धिका लागि व्यवसायीलाई निर्धक्कसँग लगानी गर्नसमेत आग्रह गरे ।

लक्ष्मी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत भट्टराईले भूकम्प, नाकाबन्दी र कोरोनाका बीच पनि नयाँ बसपार्कमा अत्याधुनिक सुविधासम्पन्न लोत्से मल निर्माण हुनु खुशीको कुरा भएको बताए ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले नयाँ बसपार्कभित्र हुने आपराधिक घटनाका विरुद्धमा प्रहरी कठोर भएर उभिने बताए । कार्यक्रममा कान्तिपुर मलका महाप्रबन्धक अमर निरौला, कान्तिपुर मल व्यापार सङ्घका अध्यक्ष जितबहादुर कटुवाल, लोत्से मलका व्यापारी रमेश गौतमलगायतले देशको सातै प्रदेश जोड्ने नयाँ बसपार्कलाई व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै, आजै नयाँ बसपार्कमा निर्माण गरिएको प्रविधिमैत्री टिकट काउण्टर र हाइजेनिक खाना तथा खाजा खाने ठाउँको समेत शुभारम्भ गरिएको छ ।

काठमाडौँ महानगरपालिका र लोत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कभित्र एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन देशभरका ६५ भन्दा बढी जिल्लाबाट आवतजावत गर्दै आएका छन् ।

काठमाडौँ महानगरपालिका–२६ गोँगबुस्थित विष्णुमति किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कभित्र १३ रोपनी क्षेत्रफलमा लोत्से मल निर्माण गरिएको हो ।

झण्डै १०० साना गाडी र २०० मोटरसाइकल अट्ने अण्डरग्राउण्ड पार्किङसहित निर्माण गरिएको लोत्से मल आठ तले रहेको छ । मलभित्र २०२ पसल कवल, सुविधासम्पन्न दुईवटा रेष्टुराँ, दुईवटा पार्टी प्यालेस, दुईवटा सिनेमा हल, न्यू बाल अन्तर्राष्ट्रिय होलसेल बजार रहेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले जानकारी दिए ।

यस्तै, बैंक, वित्तीय संस्था, सहकारी, सैलुनलगायतका पसलसमेत मलभित्र सञ्चालनमा रहेका छन् । उक्त मलभित्र छवटा लिफ्ट र १४ वटा एलिभेटर लिफ्ट रहेका छन् । नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बसपार्कको रुपमा विकास गर्न लोत्सेले प्रविधिलाई जोड दिएको छ । लोत्सेले हाल ३२ टिकट काउण्टरलाई प्रविधिसँग जोडेको महाप्रबन्धक कुँवरले बताए ।

विसं २१०२ सम्म लोेत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क सञ्चालन गर्न पाउने गरी सम्झौता भएको छ । सम्झौता अवधि सकिएपछि काठमाडौँ महानगरलाई जिम्मा लगाउनुपर्ने हुन्छ । बसपार्कभित्र निर्माण गरिएका संरचनासमेत महानगरलाई बुझाउने गरी सम्झौता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत