के यो ‘इनफ’ होइन ?



नारायण गाउँले ।
अन्ततः सेना पनि स्वास्थ्यसामग्री खरिद गर्ने प्रक्रियाबाट बाहिरिएको खबर पढ़ियो । सेनालाई अगाडि देखाइए पनि खरिदमा रक्षामन्त्री ईश्वर पोखरेलकै चलखेल रहेको र सेनाले बदनामीमात्रै बेहोर्नुपरेको सैनिक स्रोतको दाबी रहेछ ।

ओम्नीका पछाडि पनि ईश्वर पोखरेलकै संलग्नता थियो भन्ने समाचार पढ्नुभएकै होला । त्यो मूल्य कति महँगो थियो र कतिसम्म भ्रष्टाचार थियो भन्न अरूलाई सोध्न जरूरी छैन । सरकारकै स्वास्थ्यसेवा विभागले ओम्नीसँगको ठेक्का रद्द गरेर प्रतिष्पर्धामार्फ़त् ल्याएको सोही सामग्री ओम्नीभन्दा दुई गुना सस्तो पर्यो । सरकार आफैले धेरै गुना सस्तोमा किनेपछि ओम्नीको भुक्तानी रोकिनुपर्थ्यो । महानिर्देशक महेन्द्र श्रेष्ठले सार्वजनिक रूपमैं ठग्न खोजेको रहेछ, कालोसूचीमा राख्छु भनेका थिए । तर सरकारले उनै श्रेष्ठलाई कारवाही गर्यो र उनी महामारीको बीचमा सरूवा भए । ओम्नीले २४४ रुपियाँमा बेचेको जुत्ता कभर स्वास्थ्यसेवा विभागले ४१ रुपियाँमैं किनिदिएपछि भ्रष्ट्राचारको हद क्लियर भयो ।

स्वास्थ्यसेवा विभागले थप सामान पनि यसै गरी प्रतिस्पर्धाबाट सस्तोमा किन्ने निर्णय गरेपछि रक्षा मन्त्रालयले रातारात सेनामार्फ़त किन्ने निर्णय भएको बतायो । जबकि एकदिन अघि मात्रै प्रतिष्पर्धाबाट किनिने भनिएको थियो ।

सेनामार्फ़त सामान आउन या कागज मिलाउन महिनौं लाग्यो । धेरैको आशङ्का थियो, ओम्नीमार्फ़त चीनमा जोडिएको सामान र कमीशनलाई सेनाको खोलमा भित्ऱ्याउन खोजिँदै छ । अन्ततः मूल्य हेर्दा त्यो शङ्कालाई बल मिल्यो । स्वास्थ्यसेवा विभागले आफै किनेको मूल्यलाई नै आधार मान्ने हो भने पनि सेनाले ल्याएको दुई अर्बको सामानमा एक अर्ब बढ़ी मूल्य तिरिएको देखिन्छ । विभागले ४१ रुपियाँमा किनेको जुत्ताको खोललाई सेनाले २९८ तिरेको छ । यो ओम्नीभन्दा पनि बढ़ी हो । विभागले थोकमा १५ रुपियाँ प्रतिगोटा हालेको सर्जिकल मास्कलाई एकै समयमा सेनाले ५२ रुपियाँ हाल्यो । हुनुपर्ने त विभागभन्दा सस्तो थियो । किनकि सेनाको मूल्य नाफारहित हो ।

अर्थमन्त्री कर्मचारीलाई तलब खुवाउने पैसा जनताबाट उठाउन खोज्दै छन् । सरकारको सुशासनको नमुना यस्तो छ । एउटा मधेशी व्यापारीलाई आफैले फोन गरेर, आफै डिल गरेर हजारको सामान १५ सयमा बेच्यो भनेर थुनिएको छ तर ४१ रुपियाँको सामानलाई २०२ रुपियाँ बढ़ी लिएर २४४ मा बेच्ने ओम्नीलाई र २५७ रुपियाँ बढ़ी लिने सेनालाई के हुन्छ ? किन प्रधानमन्त्रीले खरिद प्रक्रिया विधिसम्मत भएको भनेर बचाउ गर्छन् ? किन खरिदसँग कुनै साइनो नै नभएका शङ्कर पोखरेलले तुरुन्तै ट्विट गरेर ओम्नीले ल्याएको सामान सस्तो भएको दाबी गर्छन् ? किन ओम्नीको ठेक्का रद्द गरेर प्रतिष्पर्धामार्फ़त् अत्यधिक सस्तोमा खरिद गर्ने महानिर्देशक श्रेष्ठलाई पुरस्कृत गर्नुको साटो सरूवा गरिन्छ ? महामारीकै बीच स्वास्थ्य मन्त्रालयको खरिद शाखाका सबै किन हटाइन्छन् ?

के तपाईंको रगत उम्लियो र Enough Is Enough! भन्दै सड़कमा आउनुभो भने त्यो प्रायोजित हुन्छ ? देशमा सबै विकास निर्माणको काम यतिबेला ठप्प छ । तर तलब खुवाउन पनि नसक्ने गरी राज्यको अर्थतन्त्र खोक्रो भइसकेको छ । के यो Enough होइन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारको कार्यशैलीप्रति कांग्रेस सांसदहरु असन्तुष्ट, माओवादीसँग गठबन्धन नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको

सगरमाथा बेसक्याम्पमा जलवायु परिवर्तन र हिमाली जीवनका विषयमा विशेष संवाद(फोटोफिचर)

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणामा शनिबार ‘सगरमाथा बेसक्याम्पमा

‘मलाई डरलाग्न थाल्यो, कतै राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि चलखेल त भएको छैन ?’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेलको

मुलुकका लागि एमालेको नेतृत्व आवश्यक रहेको बुझ्न हामीले ढिला गर्यौं : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको तीव्र विकासका लागि एमालेको बहुमत सरकार